चितवन,पुस १२- दलित आन्दोलनको अग्रपंक्तिसम्मका परिचीत युवा नेता गोपाल बिश्वकर्माले आसन्न प्रतिनिधि सभाको समानुपातिक उमेदवारमा आफुलाई दाबी गरेका छन।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता गोपाल बिश्वकर्मा हाल नेपाली कम्युनिस्ट पार्टी चितवन जिल्ला सदस्यको जिम्मेवारीमा छन्।

निडर, स्पष्टभाषी र जनपक्षधर नेताका रूपमा परिचित बिश्वकर्माले ३५ वर्षको उमेरमै जनतामाझ आफ्नो पहिचान मजबुत बनाइसकेका छन्।
पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै आएका उनी पार्टीका हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। यस अर्थमा बिश्वकर्मा नेपाली कम्युनिस्ट पार्टीका एक जिम्मेवार र सक्रिय सिपाहीका रूपमा चिनिन्छन्।
राजनीतिसँगै सञ्चारकर्ममा पनि निरन्तर सक्रिय बिश्वकर्मा डेढ दशकदेखि रेडियो पत्रकारितामा आबद्ध छन्। कुनै समयका चर्चित रेडियो प्रस्तोता रहेका उनी बलियो आवाज र स्पष्ट प्रस्तुती शैलीका कारण सञ्चारक्षेत्रमा पनि छुट्टै पहिचान बनाउन सफल भएका छन्।
दलित अधिकारका सवालमा सदैव अग्रपंक्तिमा उभिँदै आएका बिश्वकर्मा नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेशका सदस्य तथा राप्ती नगरको मोर्चा अध्यक्ष समेत हुन्।
जातीय विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै आएका उनले देशका विभिन्न स्थानमा भएका विभेदविरुद्धका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन्। सामाजिक न्याय, समानता र मानवअधिकारका विषयमा उनी सदैव स्पष्ट र अडिग रहने व्यक्तिका रूपमा परिचित छन्।
राप्ती नगरका जनताले उनलाई भरोसायोग्य र आशालाग्दा नेताका रूपमा हेर्दै आएका छन्। औषधि उपचार नपाएका नागरिकदेखि अनिकालले प्रभावित बस्तीसम्म पुगेर सहयोग पुर्याउँदै आएका कारण उनको मानवीय छवि अझै सुदृढ बन्दै गएको छ।

उनको नम्र स्वभाव, मीठो बोली र जनताप्रतिको समर्पणले गर्दा राजनीतिक भविष्य सम्भावनायुक्त देखिन्छ। यही पृष्ठभूमिमा आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनले चितवन क्षेत्र नं. १ बाट समानुपातिक उम्मेदवारका रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। पार्टीले उनको दाबीलाई कसरी सम्बोधन गर्छ भन्ने विषय भने समयसँगै स्पष्ट हुने छ।

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमार्फत राजनीतिक अनुभव सँगालेका बिश्वकर्माले २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनलाई समानुपातिकतर्फको टिकट प्रदान गरिएमा युवा–दलित क्लस्टरको मागसमेत सम्बोधन हुने पार्टीभित्रका नेताहरूको बुझाइ रहेको छ।