काठमाण्डाैको ठमेलमा रहेकाे लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ ।
एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । त्यही मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीवार हिजाे बेलुका बालुवाटारबाट पक्राउ गरिएको थियो ।
उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।