भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको छ । तेह्रौँ नगरसभामा महानगरपालिका प्रमुख रेनु दाहालद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको उल्लेख गरिएको छ ।“भरतपुर भ्रमण वर्ष, २०२४” लाई भरतपुर महानगरले निजी, सामाजिक, सामुदायिक, गैर सरकारी क्षेत्र लगायत महानगरका सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागितामा उत्सवका रुपमा मनाउने नीति तथा कार्यक्रममा जनाईएको छ ।
वर्षैभरि पर्यटन प्रवर्धन अभियानका रुपमा अगाडि बढाई पर्यापर्यटन, साँस्कृतिक पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन, जल पर्यटन, माइस पर्यटन, कृषि पर्यटन, विकास पर्यटन, स्वास्थ्य पर्यटन, सहकारी पर्यटन, खेल पर्यटन र शैक्षिक पर्यटनका मध्यमबाट विदेशी २ लाख पर्यटक भित्र्याइने नीति लिएको छ ।भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन निजी तथा साझेदार संघ संस्था, प्रदेश सरकार एंव संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ । पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा गरी वार्षिक कार्यक्रममा समावेश एवम् कार्यान्वयन गरिनेछ ।भरतपुर (चितवन) – पोखरा (कास्की) – लुम्बिनी (रुपन्देहरी) स्वर्ण त्रिकोण पर्यटन प्रवर्धन कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गरिनेछ ।महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्धन तथा विकास गरिनेछ ।पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।स्थानीय उपभोक्ताहरूको साझेदारीमा चौकीडाँडालाई हिल स्टेसनको रुपमा विकास गरिनेछ ।
भरतपुर भ्रमण वर्ष, २०२४ सन्दर्भमा नारायणी नदी किनारमा पर्यटकीय स्तम्भ निर्माण गरिनेछ। भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन महानगरका मुख्य प्रवेश मार्गमा स्थानीय कला र संस्कृति झल्कने गरी प्रवेश द्वार निर्माण गर्नुका साथै पर्यटकीय स्थलहरूको सौन्दर्यीकरण गर्ने जनाएको छ ।आदिवासी जनजाति, पिछडा वर्ग आदिको भाषा, लिपि, बाजागाजा, रीतिरिवाज परम्परा संस्कृति आदिको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।विभिन्न जाति जनजातिको पहिचान झल्किने साँस्कृतिक महोत्सव आयोजना गरिनेछ ।महानगरपालिकाको साँस्कृतिक सम्पदा सूचीहरूको सर्भेक्षण गरी महत्वपूर्ण सम्पदा स्थलहरूको संरक्षण गुरुयोजना तयार गरिनेछ।महानगरका परम्परागत रैथाने संस्कृतिहरू, सम्पदा र उत्पादनहरूलाई बजारीकरण गर्न आवश्यक कार्यक्रमहरू अगाडि बढाउने भएको छ ।पर्यटन सम्बन्धी सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित गर्न पर्यटन कार्यविधि बनाई कार्यक्रमहरू सञ्चालन गरिनेछ।