भरतपुर । नेत्रहिन युवासंघ नेपाल चितवन शाखाले स्थानीय शिक्षा अधिकारीहरुको ध्यानाकर्षण गराएको छ । रत्ननगर, माडीका नगर शिक्षा अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सहज रुपमा अध्ययन गर्न पाउने वातावरण बनाउन माग गरेका छन् । अध्यक्ष भूपराज पाठकको नेतृत्वमा पुगेको टोलीले दृष्टिविहिन विद्यार्थीलाई सहज रुपमा पढ्ने वातावरण बनाउन आग्रह गरेको छ । दृष्टिविहिन विद्यार्थीलाई अध्ययनका लागि ब्रेललिपिका किताब, ब्रेल पेपर, सहायक सामाग्री स्लेट, स्टाइल्सको सुविधा दिनुपर्ने बताएका छन् । न्यून दृष्टि भएका विद्यार्थीका लागि छापाका ठुला अक्षर भएका किताबहरु व्यवस्थापन गर्न सुझाएका छन् ।
शिक्षकहरुलाई ब्रेल लिपि प्रशिक्षण तालिम दिन समेत ध्यानाकर्षण गराएका छन् । आइसिटी कक्षाहरुमा दृष्टिविहिन विद्यार्थीलाई समेत सहभागि हुने गरी सहज वातावरण बनाउन आग्रह गरे । कक्षा ८ मा चित्रात्मक प्रश्नहरुको हकमा वैकल्पिक व्यवस्था गर्नुपर्नेमा पनि नगर शिक्षा अधिकारीहरुको ध्यानाकर्षण गराइएको सचिव किरण पन्तले जानकारी दिए । उनका अनुसार चितवनका ७ वटै पालिका, शिक्षा विकास तथा समन्वय इकाई चितवनमा समेत ध्यानाकर्षण पत्र बुझाइने बताए ।
यसैबीच, नेत्रहिन युवासंघ नेपाल चितवनले क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम दिएको छ । दृष्टिविहिन १७ जना विद्यार्थीहरु एक हप्ता सञ्चालन भएको तालिममा सहभागि भएका थिए । तालिममा नेत्रहिन युवा संघ नेपाल चितवनका अध्यक्ष भूपराज पाठकले उद्घोषण कला, सचिव किरण पन्तले प्रतिवेदन तथा प्रस्तावना लेखन, पत्रकार विप्लव काफ्लेले सूचना हक र नागरिक पत्रकारिता, पत्रकार विपिन पाठकले नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
विद्यार्थी लक्ष्मी लामाले तालिमले नेतृत्व गर्ने सीप विकास भएको बताइन् । तालिम समापन कार्यक्रममा संघका उपाध्यक्ष सुमन पौडेल, अनेरास्ववियूका नेता निरञ्जन पौडेल, सञ्जिवनी लोकसेवा तयारी केन्द्रका प्रमुख विपिन पाठक लगायतले मन्तव्य राखेका थिए ।