भरतपुर । चितवन–२ का उम्मेदवार जितनारायण श्रेष्ठले मंसिर–४ को नतिजा उल्टिने दाबी गरेका छन् । सत्तागठबन्धनले उपनिर्वाचन लक्षित गरेर सुरु गरेको चुनावी घरदैलोका क्रममा भरतपुर–३ बेलचोकमा आयोजित कोणसभामा उनले यसपाली जनताले मतको सदुपयोग गर्ने बताए । “चितवन–२ का केही मतदाता मंसिर–४ मा बहकीए, केही अलमलिए”, उनले भने, “यसपाली जनताले राम्ररी बुझिसकेका छन्, फेरी उपनिर्वाचन नहोस् भनेरै कांग्रेसलाई जिताउनेछन् ।”
उनले चितवन–२ मा केही गर्छु भन्ने संकल्प लिएर चुनावमा भाग लिएको बताए । “काम गर्न आएको मान्छे हुँ, गफ गरेर तालि बटुल्न आएको होइन”, उनले भने, “कुनैपनि कानुनी विवादमा परेको छैन, जनताले मत दिए ५ वर्षनै सांसद भएर काम गर्नेछु ।” उनले बैशाख १० गते चितवन–२ का जनताले कांग्रेसलाई मत दिदा कुनै पश्चताप नहुने जीकिर गरे । “जनतामा उत्साह छ, जनताले असल नेतृत्वलाई जिताउनेछन्”, उनले भने, “चितवनमै जन्मे, हुर्केको भएकाले मलाई धेरै जनताको साथ, समर्थन छ ।”
जनताका हरेक समस्याबारे जानकार रहेकाले समस्या समाधान गर्दै विकास, उन्नती र समृद्धिका लागि जनताको मत पाउने बताए । “जनताको घरदैलोमा २७ वर्षदेखि निरन्तर दौडिरहेको छु”, उनले भने, “हरेक भुगोल, क्षेत्रका आवश्यकताबारे महसुस छ, संघ–प्रदेश सरकारसँग समन्वय गरेर विकासको लहर ल्याउन खटिनेछु ।”
श्रेष्ठ नेपाली कांग्रेस चितवनका निवर्तमान जिल्ला सभापति हुन् । “मंसिरमा हावाहुण्डरी आयो, ५ महिनामै उपनिर्वाचन गर्नुपर्ने अवस्था आयो”, उनले भने, “यसपाली मत खेर जान नदिन हरेक मतदाता सचेत भएको पाएको छु ।” श्रेष्ठले बेलचोक, बाह्रघरे लगायतका क्षेत्रमा जनतासँग भेटघाट गरेका छन् । स्थानीयले उम्मेदवार जितनारायण श्रेष्ठलाई मन्त्रीका रुपमा देख्न चाहेको भन्दै आर्शिवाद दिएका थिए । स्थानीयले भारी मतान्तरले जिताउने बताए ।