चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई सम्मान गरेको छ । बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका सभाहलमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गर्नुभयो ।सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल र सीता परियार, सायुयल परियार र अर्पना तिवारी, मिरन सुनार र इन्द्रा भुजेलको जोडी रहेको छ ।
यस्तै भरतपुर १५ का राज दर्जी र सिम्रन चौरेल, भरतपुर २३ का ढक बहादुर नेपाली र सुशिला महतो, भरतपुर २५ का कमल बहादुर सुनार र कल्पना बस्नेतको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताउनुभयो ।
जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गर्नुभयो ।
संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको धारणा राख्नुभयो ।जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकाके अवस्था निकै काहाली लाग्दो रहेको बताउनुभयो ।जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सामाजिक क्षेत्रहरु शिक्षा, स्वास्थ्य, समानुपातमा समावेशी सशक्तिकरणका कार्यक्रमहरु पछिल्लो ०६२/०६३ काके परिवर्तनपछि बढी नै उठेर आएको उल्लेख गर्नुभयो । जातीय विभेदको सोचलाई पछिल्लो पुस्ताले मिहिनेत गरी हटाउन पर्ने बताउनुभयो । यो चिन्तन सजिलै पढेर, लेखेर नजाने उहाँको भनाई थियो ।
महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलले अन्तरजातीय विवाह गर्ने जोडीको जीवनलाई सहज बनाउन २ वर्षअघि देखि नीतिगत व्यवस्था गरिएको उल्लेख गर्नुभयो । अन्तरजातीय दाम्पितीले समाजमा खेलेको परिवर्तनको भूमिकालाई कदर गर्दै यो कार्यक्रम गरिएको बताउनुभयो । महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने दुई वर्षमा ३/३ जोडीलाई सम्मान गरेको थियो ।