भरतपुर । चितवन–२ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँफुलाई हराउन कसैले नसक्ने जीकिर गरेका छन् । भरतपुर–४ को घरदैलोमा निस्केका लामिछानेले आँफुलाई हराउन सबै शक्ति लागेपनि हराउन नसक्ने दाबी गरेका हुन् । “म मुद्धा लड्न डराउदिन, षडयन्त्रबाट निस्कन सक्ने साहस दिनुपर्नेछ”, उनले भने, “मलाई हराउने एउटै माध्यम चुनावमा भोट नदिएर हो, तर जनताको मन मनमा बसिसकेकाले कसैले हराउन सक्दैन ।”
उनले मतदाताको आर्शिवाद, माया, विश्वासका कारण जतिसुकै षड्यन्त्र भएपनि कसैले हराउन नसक्ने बताए । “जालझेल, षडयन्त्र भैरहेका छन्, चुनावमा मतदाता भड्काउन अनेक हतकण्डा चलाइएको छ”, उनले भने, “दुुनियाको शक्ति एकै ठाउामा आउनुस्, जनताको अगाडी केही हुनेछैन ।” उनले सबै दलहरु रास्वपालाई गाली गर्ने लाइनमा उभिएको टिप्पणी गरे । होनाहार सांसदहरु सदनमा पुगेपछि पुराना दलहरु रास्वपाप्रति आक्रामक बनेको तर्क गरे । “राम्रा मान्छे राजनीतिमा आए, घुसखोरी, भ्रष्टाचारीलाई सिद्धयाउन राजीनितमा आए भनेर थरथर कामेका छन्”, उनले भने, “आफुलाई भोट माग्न भन्दा मलाई गाली गर्दै चुनावी हतकण्डा मच्चाएका छन्, जनताले फेरी हामीलाई जिताएरै छाड्नेछन् ।”
उनले बैशाख १० मा हुने ३ ठाउँको उपनिर्वाचनमा रास्वपालेनै जित्ने दाबी गरे । “उपनिर्वाचन जनाउ घण्टी हो, भ्रष्टाचारीहरुको कानको जाली फुटने गरी घण्टी बज्नुपर्छ”, उनले भने, “५ वर्षपछि एकल सरकारको नेतृत्व रास्वपालेनै गर्नेछ ।” उनले व्यक्ति व्यक्तिका मात्रै नभई देशकै आँशु पुछ्ने लक्ष्य सहित राजनीतिमा आएको बताए । “कतिपयले भनिरहेका छन्, पहिलेजस्तो छैन, मतान्तर घट्छ”, उनले भने, “ती सबै मिथ्या हुन्, जनताले फेरी सर्वाधिक मतान्तर सहित जिताएर सदनमा पठाउनेछन् ।” जतिसुकै षडयन्त्र भएपनि घण्टी बाहक उम्मेदवारलाई हराउन कसैले नसक्ने दाबी गरे ।
“यतिका वर्ष उनीहरुले गरेकै गलत राजनीतिले हामीलाई राजनीतिमा आउन बाध्य बनायो”, उनले भने, “अन्य उम्मेदवार, दलप्रति केही भन्नुछैन, मेरो तर्फबाट फूल लैजानुस्, वदलामा मलाई गाली गर्नुहोला ।” राजनीतिबाटै देशमा सुशासन ल्याउने अभियान पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । उनले भरतपुर–४ को दुर्गाचोक, रामघाट, शिवघाट क्षेत्रका स्थानीयसँग भेटघाट गरेका छन् ।