भरतपुर । बैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कार्यालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिस वासुदेव न्यौपानेले संयुक्त रुपमा गरेका छन् । कार्यालय उद्घाटन लगत्तै चितवनका राजनीतिक दलहरुसँग आचारसंहिताबारे पनि छलफल भएको छ । निर्वाचनलाई शान्तीपूर्ण र भयरहित बनाउनेबारे छलफल गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत न्यौपानेले मंसिर–४ को जस्तै निर्वाचनलाई शान्तीपूर्ण बनाउन दल तथा सरोकारवालाहरुको सहयोग मिल्ने अपेक्षा राखे । उनले निर्वाचनमा आचारसंहिता पूर्णरुपमा पालना गर्न समेत सुझाएका छन् । उम्मेदवार मनोनयन गर्द आउँदा वा घरदैलोमा चुनाव प्रचारप्रसारमा जादा २५ जना बढी सहभागि नहुन आग्रह गरेका छन् । पञ्चैबाजाा, झाँकी, ¥यालीहरु ननिकाल्न समेत दलहरुको ध्यानाकर्षण गराएका छन् । उनले कुनैपनि दल वा उम्मेदवारका चुनाव अंकित टिसर्ट, टोपी, झोलाहरु प्रयोग गर्न नपाइने बताए । उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर ४ मै लागु भएको आचारसंहितालाई निरन्तरता दिएको छ । उम्मेदवारको मनोनयन दर्ता २० गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको मनोनयन दर्ताको सूचि २१ गते प्रकाशन हुनेछ । उम्मेदवारको विरोधमा २१ गतेनै उजुरी दिन सकिने छ ।
उम्मेदवारको नामावली २२ गते प्रकाश हुनेछ । उम्मेदवारको अन्तिम नामावली २३ गते प्रकाशन हुनेछ । २३ गतेनै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । उपनिर्वाचनको मतदान बैशाख १० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमसेन कार्कीका अनुसार चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता रहेका छन् । मंसिर ४ को निर्वाचनको तुलनामा यसपाली ४ सय ८० जना मतदाता थपिएका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा भरतपुर महानगरका १० वडाहरु, इच्छाकामना गाउँपालिका, कालिका नगरपालिकाका वडाहरु पर्छन् । उनले मतदानस्थल ४३ र मतदान केन्द्र १३८ रहेको बताए । चितवन–२ बाट मंसिर–४ को निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद गुमेपछि फेरी उपनिर्वाचन हुन लागेको हो । मंसिर–४ को निर्वाचनमा लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएका थिए । कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत ल्याएका थिए भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत पाएका थिए ।