काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए ।
सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ ।
नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा रहे पनि अहिलेको सत्ता समीकरणको अवस्था हेर्दा प्रचण्डले विश्वासको मत पाउने निश्चित जस्तै छ ।