भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जान हतार नगरेको बताएका छन् । भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा जानैपर्ने स्पष्ट कारण भएमात्रै जाने बताएका छन् । “सरकारमा जानेबारे कुनै छलफल भैसकेको छैन, हामीले परिस्थिति नियालिरहेका छौँ”, उनले भने, “हामी कुनै राजनीतिक दलको समूह, गुटमा छैनौँ, राजनीतिमा खेलाडी दलहरुको बीचमा नयाँ दलले अलिकति धैर्यता दिनुपर्छ ।”
राजनीतिक दल भएकाले सरकारमा जाने सम्भावना सधै रहने भन्दै उनले उपराष्ट्रपति निर्वाचनपछिमात्रै सरकारमा जानेबारे छलफल हुने बताए । “पार्टीको स्वतन्त्र अस्तित्व बोकेर सरकारमा गएका थिर्यौँ”, सभापति लामिछानेले भने, “सरकारमा जादा होस् या बाहिरिदा कुनै दलसँग सहमति, हस्ताक्षर गरिएको होइन, पार्टीको निर्णयकै आधारमा टुंगो लगाउनेछौँ ।” उनले सरकारमा जानैपरे जनताले स्पष्ट कारण बुझाएरमात्रै सहभागि हुने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनाउन सक्ने अवस्था नभएपछि अन्य दलको नेतृत्वको सरकारमा पुगेको बताए ।
“सरकारबारे च्याँखेको थापेको छैनौँ । सरकारमा जादा पद लोलुपता, प्रतिपक्षमा बस्दा सहि भन्ने हुदैन”, उनले भने, “जनताको सेवा गर्ने प्रतिवद्धता पुरा हुने भएमा स्पष्ट कारण सहित सरकारमा जान सकिन्छ ।” उनले सरकारमा फेरी जान सकिने संकेत देखाए । “भत्केको सडक छेउमा उभिएर यो सडक कहिलेसम्म भत्किरहने, यो सडक भत्काउनेले राजीनामा दिनुपर्दैन र, राजिनामा देउ भन्ने अप्सन पनि हुन्छ”, उनले भने, “ सडक बनाउन आँफु पनि सहभागि हुने, योगदान दिने, यस्तै सडक अन्यत्र पनि बनाउन सकिन्छ भनेर उदाहरण देखाउन पनि सकिन्छ । म दोस्रो अप्सन छान्छु ।” उनले सरकार प्रतिपक्षविहिन बन्न नदिने बताए ।
उनले बैशाख १० गते हुने उपनिर्वाचनमा कुनै दलसँग गठबन्धन नहुने बताए । “हरेक चुनावमा दलहरु एक्लाएक्लै चुनावमा लड्नुपर्छ”, उनले भने, “आफ्नो चुनावी एजेण्डा सहित दलहरु निर्वाचनमा जानुपर्छ ।” उनले उपनिर्वाचनमा मंसिर ४ को निर्वाचनमा पाएको भन्दै धेरै मतान्तर सहित विजयी हुने बताए । उनले चैत पहिलो सातापछि उपनिर्वाचनका लागि चितवनमा रहने बताए । “उपराष्ट्रपति चुनाव सकिए लगत्तै चितवनमा हुनेछु”, उनले भने, “जनताका कामहरु गर्दै चुनावको प्रचार गर्नेछु, पहिलेको भन्दा चुनावी अभियान फरक हुनेछ ।” उनले उपनिर्वाचनमा यसपाली पहिले भन्दो ठुलो आवाजमा घण्टी बज्ने बताए । उनले जनताहरुले ‘नो नट अगेन’ लाई आंशिक समर्थन गरेकै कारण सरकारमा सहभागि बन्नुपरेको प्रसंग सुनाए ।
“आगामी निर्वाचनपछि हाम्रै नेतृत्वमा सरकार बन्ने विश्वास छ”, उनले भने, “बहुमत जनताले दिनेछन्, संसदमा हामी आमनागरिकका मुद्धाहरु उठाउनेछौँ ।” उनले सरकार सञ्चालनको अनुभव लिनका लागि सरकारमा गएको जीकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले असल मानक स्थापित गर्न बनेको बताउँदै सत्तामा रहदा जनताका कामहरु गर्ने, प्रतिपक्षमा रहदा खबरदारी गर्ने असल संस्कार स्थापित गराउने दाबी गरे ।
मंसिर–४ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका लामिछाने नागरिकता विवादमा पर्दा सांसद पद, गृहमन्त्री पदनै गुमेको थियो । चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन हुदैछ । उनी विरुद्ध फेरी पासपोर्ट प्रकरणमा मुद्धा लगाउने चर्चा पनि चुलिएका छन् । उनले फेरी आउन सक्ने मुद्धाहरुप्रति बढी होशियार रहेको बताए । “परिवर्तनका लागि हिडेको व्यक्ति विरुद्ध अनेक प्रयासहरु हुन्छन्, म अझ बढी सजग भएको छु”, उनले भने, “ आउने चूनौतीको सामना गर्न तयार छु, टिम राम्रो बनाएको छु । अझ बढी होसियार भएको छु ।” उनले ‘रवि दाई हाईहाई’ मात्रै नभई ‘रविदाई बाईबाई’ भन्ने स्थिति आएपनि हतोत्साहति नभएको बताए । खरो आलोचना वा समर्थनमा भएका जयजयकारबाट संयमित बनेको बताए ।