चितवन । स्व.बिष्णुमाया खरेल लामिछानेको स्मृतिमा उहाँको परिवारले लेखन वृत्तिका लागि अक्षयकोष स्थापना गर्न नेपाल पत्रकार महासंघ चितवनसँग आज सम्झौता गरेको छ । क्यान्सर रोगबाट तीन वर्ष अघि निधन हुनु भएकी भरतपुर निवासी लामिछानेको स्मरणमा क्यान्सर रोगको सचेतना सम्बन्धी लेखन वृत्तिका लागि लामिछाने परिवारले स्थापना गर्न लागेको बीएम फाउण्डेशन र महासंघबीच सम्झौता भएको हो ।
फाउण्डेशनका तर्फबाट डा. प्रमोद लामिछाने र महासंघका तर्फबाट अध्यक्ष नारायण अधिकारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।सम्झौतामा तत्काल रु.५ लाख बीउ पूँजीको अक्षयकोष निर्माण गर्ने उल्लेख छ । वार्षिक रुपमा अक्षयकोषबाट प्राप्त व्याज रकममा थप गरी प्रत्येक वर्ष रु. १ लाखको लेखन वृत्ति रकम खर्च गरिने जनाईएको छ । सम्झौता कार्यक्रममा बोल्दै लामिछानेले अक्षयकोषमा क्रमशः रकम बृद्धि गरी रु.२० लाख पु¥याउने लक्ष्य रहेको बताउनुभयो । व्याज र लामिछाने परिवारले थप्ने रकमबाट पत्रकारहरुलाई क्यान्सर सचेतना सम्बन्धी लेखन वृत्ति प्रदान गरिने छ । संकलिन लेखहरुलाई समावेश गरेर प्रत्येक वर्ष फाउण्डेशनले पुस्तक प्रकाशन गर्ने छ ।
लेखन वृत्ति सम्बन्धी कार्यविधि महासंघले बनाउने जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । महासंघले पछिल्लो समय लेखन वृत्तिका लागि अन्य निकायहरुमा पनि पहल गर्दै आएको छ । कार्यक्रममा डा. लामिछाने, अध्यक्ष अधिकारी, डा. लामिछानेका पिता कृष्णप्रसाद लामिछाने, स्व.लामिछानेकी दिदी सामाजिक व्यक्तित्व मिना खरेल लगायतले बोल्नु भएको थियो । स्व.लामिछाने र प्रमोद लामिछानेले भरतपुरमा हाडजोर्नी सम्बन्धी एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर स्थापना गरी सञ्चालन हुँदै आएको छ । स्व. लामिछानेको पेट क्यान्सरका कारण तीन वर्ष अघि ३७ वर्षको उमेरमा निधन भएको हो ।