काठमाडौँ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तनका साथै डिजाईन गराउन स्वीकृत गर्नुका साथै निर्माण कार्य गराउन निर्णय गरेको अख्तियारले जनाएको छ ।
‘राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहोदाको दुरुपयोग गरेर भ्रष्टाचार भएकोले’ अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवाना हुन अनि हानिनोक्सानी भएको बिगो मरहट्टाबाट असुल उपर हुन मागदाबी लिइएको छ ।’अख्तियारले प्रदेश सडक निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठमाथि गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको भन्दै उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले श्रेष्ठमाथि ५ लाख ७१ हजार विगो मागदाबी गरेको छ ।
साथै पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओम राज ढुङ्गानाविरुद्ध पनि आरोपपत्र दायर गरिएको भण्डारीले जानकारी दिए । उनीमाथि काल्पनिक सडकको नाम दिई सार्वजनिक वनक्षेत्रको जथाभावी प्रयोग गरी बाटो बनाएर राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ । अनि गैरकानूनी रुपमा सरकारी वनको नोक्सानी गरेको आरोप पनि लगाएको छ ।