काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसका विदालाई निरन्तरता दिने भएको छ । पुस २७ मा पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसका रुपमा दिइने सार्वजनिक विदालाई निरन्तरता दिने भएको हो । सरकारले यी विदाहरुलाई क्यालेण्डरमा नै समावेश गरेको छ ।
Advertisement
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिइन् । क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो । २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सकिने बताइन् । उनले बिदाहरुलाई व्यवस्थित गर्ने निर्णय भएको बताइन् ।