भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थाक्ने, हार्ने सुविधा नभएको बताएका छन् । शुक्रबार राती चितवन आउने क्रममा भेला भएका जनतासँग उनले भने, “थाक्ने, हार्ने सुविधा छैन, हामी लडेको हो, मरेको होइन, उठ्न सकिन्छ, हिम्मत छ ।” उनी मंसिर ४ को निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा परेपछि उनको सांसद पद खारेज भएको थियो ।
चितवन–२ मा केही महिनामै उपनिर्वाचन हुनेछ । “अदालतको फैसला मान्नुपर्ने हुन्छ । हामी जेजस्तो भैपरी आउँछ, सँगै लड्नेछौँ”, उनले भने, “सुख दुखमा सधै छु, चिन्ता नगर्नुहोला, उत्साह राख्नुहोला ।” उनले लडेको ठाउँबाट उठेर दौडिएर गन्तव्यमा पुग्ने साहस र हिम्मत रहेको बताए । उनले चितवनले आँफुलाई ठुलो योगदान गरेको सम्झिएका छन् । “मैले कति धेरै दुःख दिएँ होला ? कहिले आन्दोलन हुन्छ, कहिले यही आएर हिरासतमा बस्यो, कहिले चुनाव, कहिले के, कहिले उपचुनाव”, मतदाता सामु उनले भने, “ कहिलेकाहि दुःख पनि लाग्छ । ठुलो बाटोमा जादैछौँ, त्यसैले पटक पटक मैले परीक्षामा बस्नुपरेको होला भनेर मन बुझाउँछु ।”
उनले चितवनबासीको माया, आर्शिवाद लिएर हिडेकाले विचलित नहुने बताए । उनले छोटो अवधिमै २० जनालाई संसदमा पु¥याउन सफल भएको बताउँदै उनले आगामी निर्वाचनमा इमान्दार, सक्षम र भिजिनरी लिडरहरुलाई एक्यवद्ध बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
“पदमा आँफु बसौँला, गरौँला भनेर लागेको पनि होइन, जतिञ्जेल बसियो, एक एक मिनेटको पनि सदुपयोग गरियो”, सरकारमा बस्दाका दिनहरु सम्झदै उनले भने, “हरेक दुःखमा परेका नागरिकको सेवामा लागियो, जहाँ बसेपनि, जहाँ रहेपनि समाजलाई योगदान दिने मेरो स्वभाव कायमै राख्नेछु ।”
उनले मलिन अनुहार नबनाउन आग्रह समेत गरे । लामिछानेले उपप्रधान तथा गृहमन्त्रीका रुपमा ३२ दिन गृहमन्त्रालय सम्हालेका थिए । आज (शनिबार) चितवनमा हुने आधा दर्जन बढी कार्यक्रममा उनी सहभागि बन्नेछन् । लामिछानेसँगै पूर्व श्रममन्त्री डिपी अर्याल पनि चितवन आइपुगेका छन् ।