काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ ।
बालकोटको भेटपछि प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक बसेर सबै विषयमा छलफल गर्ने जानकारी दिए । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अहिले सत्तारुढ दुई दल माओवादी केन्द्र र एमालेबीच फरक मत प्रकट भइरहेको छ । एमाले पूर्वसहमतिअनुसार राष्ट्रपतिको उम्मेदवार आफूले खडा गर्ने दाबी गरिरहेको छ । प्रधानमन्त्री दाहाल भने कांग्रेसले पनि विश्वासको मत दिएकाले उसका लागि समेत अनुकूल हुने व्यक्ति हुनुपर्ने पक्षमा छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थाबारे पनि बुधबार दुई शीर्ष नेताबीच कुराकानी भएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा दुवैबीच भेट भएको हो ।राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै कांग्रेससँगको सहकार्यमा माओवादीले संकेत जनाएपछि एमाले संशकित भएको छ । एमालेले पूर्वसहमतिअनुसार नै आफूले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएको छ । राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।