काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको राष्ट्रपति आफ्नो पार्टीबाटै बन्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित एक कार्यक्रममा उनले अन्य दलहरूसँग सहमति गरेर राष्ट्रपति पदको निर्वाचनमा कांग्रेसले उमेदवारी दिने र जित्ने दाबी गरे ।
नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहमा उद्घाटन गर्दै कोइरालाले भने, ‘२५ फागुनमा के हुन्छ भन्ने प्रश्न होला । राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। कांग्रेसकै उम्मेदवारले जित्छ ।’
कांग्रेस प्रमुख प्रतिपक्ष दल भएकाले आफ्नो भूमिका राम्ररी निर्वाह गर्ने उनले उल्लेख गरे । प्रतिपक्ष दल ‘वेइटिङ गभर्मेन्ट’ भएकाले सत्तारूढ दलले त्यसलाई नजरअन्दाज गर्न नमिल्ने उनको तर्क थियो ।उनले कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि बताए। ‘हामी सरकारमा जाँदैनौं, प्रतिपक्षमै बस्छौं,’ उनले भने ।