गैँडाकोट । गैडाकोटमा हुने दोस्रो गैडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ को तयारी पूरा भएको छ । यहि माघ २६ गतेदेखी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक नवजागरण ग्रामिण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए । गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सापकोटाले नव प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताको विजेतालाई २ लाख रुपैयाँ, उप विजेतालाई १ लाख ५० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक उपाध्यक्ष विष्णुप्रसाद कंडेलले जानकारी दिए । प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी र चितवन गरी ८ टिम सहभागि हुने सञ्चार संयोजक नारायण सापकोटाले जानकारी बताए ।
प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, ईमर्जिङ प्लेयरलाई ७ हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई ५÷५ हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै म्यान अफ द म्याचलाई १५ सय, कप तथा मेडल प्रदान गरिने छ । प्रतियोगिताको प्रर्वद्धकमा रुपमा गैँडाकोट नगरपालिका रहेको छ भने नवलपुर जिल्ला क्रिकेट संघ, गण्डकी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट संघको समन्वय रहेको छ ।
खेल नवजागरण खेलकुद मैदान, गैँडाकोट ९ थुम्सीमा हुनेछ । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने बताए । गैँडाकोट ९ का वडाध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय रहेको बताए ।