भरतपुर । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले २६ सुत्रिय माग राखेको छ । समाजको तेस्रो साधरण सभा तथा अधिवेशनमा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह समक्ष मागहरु पेश गरिएको हो ।
समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले दूध र दूग्ध पदार्थ आयातलाई पूर्णरुपमा बन्देज लगाउनुपर्ने, प्रति लिटर दूधमा किसानले १४ रुपैयाँ पाउने गरी मूल्य वृद्धि गर्नुपर्ने, कृषि कर्जा भुक्तानी अवधि २० वर्षको ५० प्रतिशत ओडी मोाडेल र ५० प्रतिशत तम लोन र चौमासिक व्याज भुक्तानी मोडेलमा हुनुपर्ने माग राखेका छन् । उनले ३० वटासम्म माउ दूधालु पशु पाल्ने किसानलाई लगानीको ५० प्रतिशत बीउ पूँजी र ३० भन्दा बढी माउ पाल्ने किसानलाई लगानीको ४० प्रतिशत बीउ पूँजी सुरुवाती चरणमा १० वर्ष र्निव्याजी भुक्तानी गर्ने गरी परियोजनाको आधारमा व्यवस्था हुनुपर्ने मागहरु राखेका छन् ।
“आगामी १० वर्षभित्र नेपालको कृषि व्यवसायलाई युरोपियन मापदण्डमा विकास गर्दै वार्षिक खर्बको कृषि वस्तु निर्यात गर्ने अवस्था सृजना गर्नुपर्छ”, उनले भने, “कृषि क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने अभियानलाई सफल बनाउन लाग्नुपर्छ ।” उनले किसान परिचयपत्र, किसान वर्गिकरण तथा जमिन करार ऐन छिटै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानहरूले उठाएका मागहरुलाई सम्बोधन गर्न बताएकी छन् । दूध, माछा, तरकारी किसानका समस्या समाधान गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाइन् । उनले धेरै समस्याहरु रहेकाले मन्त्रालयले किसानको पक्षमा काम गर्ने बताइन् । उनले राजनीतिभन्दा माथि उठेर काम गर्ने बताइन् ।