भरतपुर । चितवनका तरकारी किसानहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नारायणगढ स्थित पुलचोकमा तरकारी फालेर प्रर्दशन गरेका छन् । टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमी लगायतका तरकारी सडकमै फालेका छन् ।
अगुवा किसान लेखनाथ भुसालले नेपाली तरकारीले बजार नपाएकाले सडक प्रर्दशनमा उत्रिन परेको बताए । भारतबाट धमाधम तरकारी आयात हुदा किसानहरु मारमा परेको दुखेसो गरे । “स्वदेशमै उत्पादन भएका तरकारीले बजार पाउदैनन, भारतबाट धमाधम आयात हुन्छ”, उनले भने, “स्वदेशी तरकारीको खपतका लागि आयात रोक्नुपर्छ, किसानलाई पलायन हुनबाट जोगाउनुपर्छ ।” उनले चितवनका तरकारी किसानले छिटै सशक्त आन्दोलन गर्ने तयारी रहेको बताए ।
भरतपुर–१६ स्थित रेसुङ्गा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले किसानका समस्याबारे सरकारले वेवास्ता गरेपछि सडक आन्दोलनमै आउनुपरेको बताइन् । बारीमा फलेका तरकारी न्यून मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । किसान सुसनजंग केसीले स्वदेशी तरकारीको मूल्य नपाएपछि सडकमा फाल्नुपरेको बताए ।