भरतपुर । चितवनको माडीको विकासलाई गती दिन जनप्रतिनिधिको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किरातीसँग छलफल गरेको छ । छलफलमा बागमती प्रदेशका सांसद ठाकुरप्रसाद ढकाल, माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतो, माओवादी केन्द्र माडीका अध्यक्ष प्रभु महतो, सचिव नेत्र काफ्ले, सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नेत्रनाथ आलो, आरआरएन परियोजनाका संयोजक रविन्द्रसिंह ठकुरी, माडी नगरका विपद् व्यवस्थापन फोकल पर्सन गोविन्द न्यौपाने, अर्थशास्त्री मधुसुदन अधिकारी लगायतको टोली सहभागि भएको थियो ।
बागमती प्रदेशका सांसद ठाकुरप्रसाद ढकालले निकुञ्जभित्रका सुविधाप्राप्त बाटोलाई कालोपत्रे गर्न छिटै प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गराइएको बताए । “ध्रुवघाटदेखि बनकट्टाहुदै रिउ खोलासम्म र बगईदेखि ठोरीसम्मको निकुञ्ज खण्डको बाटो कालोपत्रे गर्न हुलाकी राजमार्ग निर्देशनालयलाई पत्राचार हुनेछ”, उनले भने, “निकुञ्जभित्रको धुलाम्मे सडकलाई स्तरोन्नती गर्न प्रधानमन्त्री, भौतिक पूर्वाधार मन्त्री सकारात्मक हुनुहुन्छ, छिटै नतिजा आउनेछ ।” वन तथा वातावरण मन्त्रालयले असोज ४ गतेनै वातावरणीय प्रभाज अध्ययन गर्न सहमति दिइसकेकाले काममा ढिलाई नहुने बताए ।
माडीको बगईदेखि अमुवाहुदै ठोरी जाने विकल्पको रुपमा बगई–कुसुमखोला हुदै ठोरी निस्कने बाटो निर्माणका लागि समेत छलफल भएको जानकारी दिए । राप्तीदेखि रिउसम्मको निकुञ्जखण्डभित्र वन्यजन्तु आवतजावतका लागि अण्डरपास निर्माण गर्नेबारे पनि छलफल भएको बताए । सांसद ढकालका अनुसार निकुञ्ज छेउमा पर्ने बगईदेखि रिउ किनारमा अग्लो ड्याम बनाएर वन्यजन्तुलाई माडीका वस्ती प्रवेश हुनबाट रोक्ने गरि रिउ करिडोर निर्माणबारे पनि छलफल भएको बताए । “रिउ करिडोरका लागि बजेट सुनिश्चित गर्ने प्रधानमन्त्री ज्यूले पहल गर्ने भन्नुभएको छ”, उनले भने, “रिउ करिडोर आयोजना कार्यान्वयन आउनेमा विश्वस्त छौँ ।”
प्रधानमन्त्री प्रचण्डले माडीको बाँदझुलाका भूमिहिनहरुलाई छिटै लालपुर्जा दिलाउन समेत चासो देखाएका छन् । उनले छिटै भूमि आयोगबाट लालपुर्जा वितरणका लागि काम गर्न निर्देशन दिने भएका छन् ।
माडीमा रहेका अपुरा र अधुरा विकास निर्माणलाई सहजीकरण गर्न सम्बन्धित सबै मन्त्रालयको ध्यानाकर्षण गराउनेबारे समेत छलफल भएको थियो । पर्यटनमन्त्रीले माडीको रेडहिल पार्कदेखि छरछरेसम्म जिपलाइन निर्माण गर्ने योजना रातो किताबमा उल्लेख गर्ने आश्वासन दिएका छन् । सोमेश्वरगढी नेपालका १ सय उत्कृष्ट गन्तव्यहरुको सूचिमा समेत परेको थियो ।