काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज मतदान हुदैछ । दिउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ ।
उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ ।
सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवको उम्मेदवारी परेको हो । मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम रहेकी छन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीका नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन छन् ।
यस्तै यादवको समर्थकमा कांग्रेस नेता बद्री पाण्डे, समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सत्तागठबन्धनमा स्पष्ट बहुमत भएकाले मगर निर्वाचित हुने निश्चित छ ।