भरतपुर । कालिका नगरपालिकाले अवैध रुपमा डम्पिङ गरेर राखिएका नदीजन्य पदार्थहरु जफत गरेको छ । मेयर विनोद रेग्मीले पुस २९ गतेदेखि निरन्तर नदीजन्य पदार्थको डम्पिङ साइड क्लियर अभियान चलाइएको बताए । उनका अनुसार ६ गतेसम्म ४ सय ७५ ट्रिपर ढुंगा, ग्राबेल जफत गरिएको छ ।
वडा नम्बर ७ कार्यालय नजिकैको सगुन टोलको खुल्ला चौरमा नगरपालिकाले संकलन गरेर राखेको छ । शुक्रबार सिद्धी, शक्तिखोरबाट लुकाएर राखिएको अवस्थामा नदीजन्य पदार्थ जफत गरिएको छ । “कयर र सिन्ती खोलाबाट अवैध रुपमा उत्खनन् गरी डम्पिङ गरिएका ठाउँ पहिचान गरेका छौँ”, मेयर रेग्मीले भने, “खोलाका छेउछाउमा राती–राती उत्खनन् गरेर थुपारेको राखेको पाएका छौँ, अवैध भण्डारण सबै नियन्त्रण गर्नेछौँ ।”
उनले अवैध रुपमा भण्डारण गरिएका नदीजन्य पदार्थ जफत गर्ने अभियान चलाउदा आँफुलाई थ्रेट आएको बताए । “म माथि सुरक्षाको थ्रेट आइरहेका छन्, अनेक दबाबहरु आएका छन्”, उनले भने, “म विचलित छैन, वेथीति रोक्ने काम चलिरहन्छ ।” कालिका नगरभित्रका ७ देखि ११ नम्बर वडाभित्र नदीको चरम दोहन भएको गुनासो आएपछि नगरपालिकाले अभियानै चलाएको हो ।
मेयर रेग्मीले संकलित नदीजन्य पदार्थलाई कार्यविधि अनुसार विक्रिवितरण गरिने बताए । प्राप्त राजश्वबाट बढी उत्खनन् भएका वडाहरुमै विकास निर्माणमा लगानी गरिने बताए । नदीजन्य पदार्थ विक्रिवितरणबाट प्राप्त ४० प्रतिशत राजश्व प्रदेशलाई र ६० प्रतिशत नगरपालिकाले लिनेछ ।
कालिका–८ का वडाध्यक्ष चित्रहादुर मगरले अवैध रुपमा उत्खनन् गरेका व्यक्तिहरुको खोजी भैरहेको बताए । खोलकै डिलमा भण्डारण गर्ने व्यक्तिहरुको सूचना लिने काम भैरहेको बताए ।