काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक विदा दिएको छ । आइतबार यती एयरको विमान अवतरणका क्रममा सेती खोँचमा दुर्घटनामा परेपछि सरकारले शोक घोषणा गरेको हो । सरकारले शोक विदा दिएपनि अत्यावश्यक सेवाहरु भने बन्द नहुने जनाएको छ । बैंक तथा वित्तीय संस्था भने खुला रहने छन् ।
मन्त्रिपरिषद्को बैठकपछि गृह मन्त्रालयले जारी गरेको सूचनामा अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर सोमबार सार्वजनिक बिदा हुने उल्लेख छ । नेपाल सरकारले राजपत्रमा २०७६ साल असोज २७ गते प्रकाशन गरेको सूचना अनुसार बीमा बैंक तथा वित्तीय सेवाप्रदायक संस्थासमेत अत्यावश्यक सेवाअन्तर्गत पर्छन् ।
गृह मन्त्रालयको सूचनाअनुसार अत्यावश्यक सेवाको सूचीमा समावेश रहेको दूरसञ्चार सेवा, यातायात सेवा, ढुवानी सेवा, स्वास्थ्य उपचार सेवा, पर्यटन सेवा, पेट्रोलियम पद्धार्थ ढुवानी सेवा, विद्युत सेवा, छापाखाना सेवा, आन्तरिक सुरक्षा सेवालगायतको सेवा प्रवाह गर्ने कार्यालयसमेत खुल्ला रहने भएका छन्। हिजो दुर्घटनामा परेको विमानमा ७२ जना सवार थिए । जसमध्ये ६८ जनाको शव निकालिएको छ । आन्तरिक हवाई उडानतर्फ सो दुर्घटना नेपालकै धेरैे मानवीय क्षती भएको घटना हो ।