(आशिष अधिकारी) चितवन । नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर पुनर्निर्माण सम्पन्न गरेको भरतपुर ६ केसरवागस्थित ‘किङफिसर’ ताल स्थानीयलाई हस्तान्तरण गरेको छ । किङगफिसर ताल ४ नामाकरण गरिएको ताल शुक्रबार नवज्योति सामुदायिक बन उपभोक्ता समूह भरतपुर ६ लाइ हस्तान्तरण गरिएको हो । गत आर्थिक वर्ष २०७८÷०७९ मा तालतलैया संरक्षण र पुनर्निर्माणको महत्वपूर्ण परियोजनाका रूपमा सेनाले उक्त कार्य गरेको हो । निर्माणको जिम्मेवारी पूरा गरेसँगै सेनाले उक्त ताल स्थानीयलाई हस्तान्तरण गरेको जनाएको छ। किङफिसर एक, दुई र तीन यस अघि नै स्थानीयलाई हस्तान्तरण गरि सकिएको छ ।
कार्यक्रममा बोल्नु हुँदै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले तालको संरक्षण र प्रबर्द्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताउनु भयो । चितवन देश कै तेस्रो गन्तव्यको रुपमा रहेको बताउदै उप प्रमुख अधिकारीले स्थानीय स्तरमा भएका ताल तलैयाहरुको सरक्षण र सम्बर्द्धन गरि पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न ढिला गर्न नहुने तर्क राख्नु भयो ।किङफिसर भन्ने चरा त्यस स्थानमा आएर चरीचरन गर्ने क्रममा माछा खाने गरेकाले उक्त तालको नाम किङफिसर ताल राखिएको हो । किङफिसर ताल मुलुकुमा रहेका पाँच हजार ३ सय ५८ तालमध्ये निकै चर्चामा रहेको एक महत्वपूर्ण ताल हो । पूर्वपश्चिम राजमार्गको हाकिमचोकबाट सात किलोमिटर दक्षिण, खगेरी दह पश्चिम तथा बीसहजारी ताल नजिक अवस्थित उक्त ताल मानव निर्मित हो ।
नवज्योति सामुदायिक वन मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सहयोगमा विसं २०६२ मा पुनर्निर्माण गरिएको उक्त तालमा पानीको स्थायित्वका लागि बीचबीचमा बाँध लगाइएको छ । बाँधले छुट्याए अनुसार किङफिसर एक, दुई, तीन र चार नामकरण गरिएको उक्त ताल निर्माणका लागि वन मन्त्रालयअन्तर्गत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास कार्यक्रमबाट विभिन्न आर्थिक वर्षहरुमा बजेट विनियोजन गरिएको थियोे ।
केही वर्षदेखि चौरमा परिणत भएको र त्यस क्षेत्रको वैभव बोकेको उक्त ताल पुनर्निर्माणका लागि स्थानीयवासीले पटकपटक आग्रह गरेपछि सैनिक नागरिक सम्बन्धको नमूना कार्य बनाउने उद्देश्यले किङफिसर ताल निर्माणलाई प्राथमिकता दिइएको हो ।ताल निर्माणपछि त्यस क्षेत्रमा रहेका लोपोन्मुख जलीय प्राणीको संरक्षणका साथै पर्यावरणीय सन्तुलनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।ताल निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले त्यस क्षेत्रमा व्यापार व्यवसाय र चहलपहल बढने स्थानीयवासीको भनाइ छ । उक्त ताल पुनर्निर्माणका लागि कालीप्रसाद गण (ई) लाई सेनाले व्यवस्थापनको जिम्मेवारी दिएको थियोे ।बिगत ४ बर्ष देखि नेपाली सेनाबाट तालको रेखदेख तथा सरक्षण हुँदै आइरहेको थियोे ।