भरतपुर । भरतपुर महानगरपालिकाले सडक क्षेत्राधिकार मिचेर बनाएका संरचनाहरु हटाउन लगत संकलन तीव्र बनाएको छ । मंसिर १३ गते सार्वजनिक सूचना जारी गर्दै सडक क्षेत्राधिकार तथा सेडक व्याक मिचेर तथा मापदण्ड विपरित बनाइएका भवन, कम्पाउण्डवाल, अस्थायी शेड तथा अन्य संरचनाहरुको विवरण वडा कार्यालयहरुबाट मगाएको छ ।
मंसीर २७ गते भवन संहिता एवम् निर्माण इजाजत शाखाले फेरी वडा कार्यालयलाई पत्र पठाउँदै पुस ५ भित्र विवरणहरु पठाउन आग्रह गरेको थियो ।
वडाभित्रको सडकको नाम, अस्थायी टहरा, कम्पाउण्ड वाल, भवन, अन्य संरचनाको विवरण पठाउन आग्रह गरेको थियो । भरतपुर महानगरका इञ्जिनियर सूर्यप्रकाश लामाले वडातहबाट विवरणहरु आउने क्रममा रहेको जानकारी दिए । “२९ वटै वडाबाट मापदण्ड विपरितका संरचना र सडक क्षेत्राधिकार मिचिएका ठाउँहरुको विवरण आएलगत्तै व्यापक छलफल हुनेछ”, उनले भने, “मापदण्ड विपरितका संरचनाहरु हटाउने अभियानै चलाइने छ ।”
उनका अनुसार सडक छेउबाट सेडव्याक कम्तिमा डेढ मिटर हुनुपर्नेछ । झ्याल राखेका संरचनाहरु सडकभन्दा डेढ मिटर पर हुनुपर्नेछ । सटर राखिएका संरचना सडकबाट २ मिटर पर हुनुपर्नेछ । घरको टप भएमा सडकभन्दा २ मिटर पर हुनुपर्नेछ । महानगरले ५०, ३०,२२, १६,११, ६ मिटर चौडाई कायम हुने गरी सडकहरु समेत निर्धारण गरिसकेको छ । “विवरण वडातहबाट संकलन लिने काम धमाधम भैरहेको छ”, उनले भने, “सुरुमा सडक क्षेत्राधिकार कायम गर्न लाग्नेछौँ ।”
उनले भवन तथा संरचनाहरु निर्माण गर्दा अनिवार्य रुपमा मापदण्ड पुरा गरेर मात्रै बनाउन सुझाएका छन् । महानगरभित्र रहेका पुराना ससाना सडक जहाँ दुवैतर्फ संरचनाहरु बनिसकेका ठाउँमा कसरी सडक क्षेत्राधिकार कायम गर्ने भन्नेबारे छलफलमै रहेको बताए । नक्सापासमा वेसमेन्ट पार्किङको स्वीकृति लिई अन्य प्रयोजनमा प्रयोग भइरहेका बेसमेन्ट, स्वीकृति नलिई घर अगाडि हालिएका ट्रस, जस्तापाता राखेर बनाइएको संरचना महानगरले हटाउन भन्दै ३५ दिने सूचना जारी गरेको थियो ।