भरतपुर । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले दूधको मूल्य समायोजन गर्न माग गरेको छ । ६ सुत्रिय माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै व्यवसायिक गाईभैसी पाल्न सक्ने स्थिति नभएको भन्दै ध्यानाकर्षण गराइएको छ । प्रतिलिटिर १४ रुपैयाँ उत्पादक किसानले पाउने गरी दूधको मूल्य पाउनुपर्ने, कृषि कर्जा भुक्तानीको अवधि नयाँ तथा पुराना कर्जालाई कम्तिमा १५ वर्ष ओडी मोडेलमा पुर्नतालिका गर्नुपर्ने, किसान परिचयपत्रको व्यवस्था गर्नुपर्ने, किसानको आवश्यकता अनुसारको अनुदान व्यवस्थापन हुनुपर्ने, कृषि तथा दुग्ध सहकारीको तथा व्यवसायिक फर्महरुको भौतिक पूर्वाधरमा राज्यले मेसिनरीहरुमा ८० प्रतिशत अनुदान दिनुपर्ने मागहरु राखेको छ ।
केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले महंगी बढ्दा समेत दूधको मूल्य नबढेकोमा दुखेसो गरे । “२२ लाख किसान गाईभैसी पालनमा लागेका छन्”, उनले भने, “४५ दिनभित्र माग सुनवाई नभए कडा संघर्ष थाल्छौँ ।” उनले उद्योग चल्न २५ प्रतिशत मुनाफा लिन पाउने व्यवस्था भएपनि किसानले लागत मूल्य समेत नपाएको बताउँछन् । “प्रतिलिटर दूधमा १४ रुपैयाँ किसानले पाएमा किसानलाई राहत हुन्छ”, उनले भने, “पेशाबाटै पलायन गर्ने या आयआर्जनको बाटो जोगाउने राज्यले बेलैमा सोच्नुपर्छ ।” किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच रहेको अन्तर हटाएर किसानले मूल्य पाउने गरी मूल्य बढाउनुपर्ने माग गरे । दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य भगीरथ तिमिल्सिनाले किसानलाई संरक्षण गर्न दूधको मूल्य समायोजन गर्नुपर्नेमा जोड दिए ।
अन्नपूर्ण दुग्ध उत्पादक सहकारीका अध्यक्ष ऋषिराम चापागाईले महंगीका कारण गाईभैसी पाल्न सक्ने अवस्था नरहेको बताए । भरतपुर–६ का किसान तथा संस्थाका बागमती प्रदेशका अध्यक्ष विष्णुप्रसाद अधिकारीले पुराना किसानहरु पलायन हुने स्थितिमा पुगेको बताए ।
औषधि व्यवसाय छाडेर २० वर्ष यता गाईपालनमा सक्रिय भरतपुर–५ का इन्द्रमणी गैरेले गाइ पाल्नुस भन्दा पनि किसानमैत्री योजना तथा कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । भरतपुर–१४ का किसान हरिप्रसाद अधिकारीले आहारा, घाँस, परालको मूल्य बढेको बताउँछन् । शहरी क्षेत्रमा ६० प्रतिशत र गाउँमा ४० प्रतिशत महंगी बढेको बताउँछन् ।