भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत सम्बन्ध थप मजबुत हुने बताएका छन् । भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँग कुराकानी गर्दै उनले नेपाल भारत मिलेर अगाडी बढ्नुपर्ने अभिव्यक्ति दिएका हुन् । उनले आगामी दिनमा नेपाल भारतबीचको सम्बन्ध थप सुधार हुने बताए ।
“आउने दिनमा भारतीय नेताहरुसँग जसरी कुराकानी भएको छ, प्राकृतिक स्रोत साधनको सदुपयोग, बोर्डर समस्या , व्यापार, व्यवसाय, काफि प्रोजेक्टहरु छन्, यी सबै सहि दिशामा लैजाने प्रतिवद्धता छ”, उनले भने, “युनिक सम्बन्ध छ, यो विशिष्ट सम्बन्ध अझै मजुबत बनाएर लैजानेछु । ” प्रधानमन्त्री प्रचण्डले आँफु कुनै एक छिमेकी देशको पक्षमा नभएको स्पष्ट पारे । “नेपालको राजनीतिमा प्रो चाइना, प्रो इण्डिया, प्रो अमेरिकाको कुरा छैन, सबैसँग मिलेर काम गर्नेछु”, उनले भने, “राजाका पालामा जस्तो कुनै एक छिमेकी राष्ट्रलाई देखाएर विभाजन गर्ने अवस्था छैन, नेपालको सरकार नेपाली जनता र राष्ट्रप्रति समर्पित भएर काम गर्छ ।”
उनले छिमेकी राष्ट्रसँग देखिएका समस्याहरु छलफल र वार्ताका माध्यमबाट हल गरिने विश्वास व्यक्त गरे । उनले संघीय लोकतन्त्र, गणतन्त्र, समावेशी, समानुपातिक लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन लागिपर्ने बताए । प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति निवासबाट निस्किँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिएको र लगतै भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरेर बधाई दिएको समेत प्रचण्डले सम्झिए ।