यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई ट्राफिक प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउण्टरहरुमा निगरानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्यरुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
काठमाडौं बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ वसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, बर्ष ३८ का कुशलराम बस्नेत, बर्ष २८ का गिमबहादुर गाहामगर, रूपन्देहीका वर्ष ३६ का दीपनारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन्। उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।
काठमाडौंबाट बा१६च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुरसम्म लैजान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षिय राकेश रसाईली पक्राउ परेका छन्। रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैंयाँका दरले भाडा लिएका थिए। यसैगरि चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रति ब्यक्ति ५ हजारसम्म भाडा लिने २५ बर्षका झनकबहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
घिमिरेले ना१ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन्। पक्राउ परेका ब्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा पश्चातको यो अबधीमा उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा आठ गुणाबढीसम्म भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरि कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
भाडामा यात्रु ओसार्ने ४७ वटा निजी सवारी साधनहरू कारवाहीमा
बिशेषगरी काठमाडौं उपत्यका बाहिरने यात्रुहरुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राईभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ। त्यस्ता निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाईएपछि कारबाही गरेको महाशाखाले जनाएको छ।
“भाडाका सवारी साधनहरुको जस्तै बोलेरो, स्कार्पियो लगायतका निजी सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको पाईएकोले नियन्त्रण एव कारबाही गर्न अभियान नै चलाएको एसएसपी भट्टराईले जानकारी दिए। उनले जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारवाही पनि सँगसँगै लगिएकोसमेत बताए।
प्रकाशित: १६ असार २०७८ १४:५० बुधबार