काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रक्रियाबाटै बजेट आउने बताएका छन् । सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले भने संसद् जिउँदै रहेकोले प्रक्रियाबाट नै बजेट आउने बताएका हुन् ।
आइतबार सिंहदरबारमा बसेको पार्टीको बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसदीय प्रक्रियाबाटै बजेट ल्याइने बताएका हुन् ।
जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहे पनि अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफाफरिस गरेको छैन । अर्कोतिर, जेठ १५ गतेअगाडि नै राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गर्नुपर्ने भए पनि अहिलेसम्म बजेट अधिवेशनको टुङ्गो लागेको छैन ।
वैशाख २७ गने विश्वासको मत लिन विशेष अधिवेशन आह्वान हुँदा ओलीले विश्वासको मत पाउन सकेनन् । त्यसपछि उनी वैशाख ३० गते ठूलो दलको हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।