पुस २९, चितवन ।
माटो र प्रकृतिसँग गहिरो साइनो गाँसेको कुमाल समुदायले आफ्नो महान् पर्व माघे संक्रान्ति (माघी) लाई यस वर्ष भरतपुर महानगरपालिका वडा नम्बर २८ मा भव्यता र उल्लासका साथ मनाउने भएको छ । ‘कुमाल जातीको साँस्कृतिक कार्यक्रम उपभोक्ता समिति’ को आयोजना तथा भरतपुर–२८ को सह–आयोजनामा ‘पाचौँ बृहत साँस्कृतिक कार्यक्रम’ को आयोजना गरी यो पर्व मनाउन लागिएको हो । विगतका वर्षहरूमा राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाटमा आयोजना हुँदै आएको यो ऐतिहासिक कार्यक्रम, यस पटक भने स्थान परिवर्तन गरी वडाको हाटबजार क्षेत्रमा केन्द्रित गरिने समितिले जनाएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीको प्रमुख आतिथ्यता रहनेछ । समितिका अध्यक्ष गञ्ज सिंग कुमालका अनुसार, माघे संक्रान्ति कुमाल समुदायका लागि पात्रोको एउटा तिथी मात्र नभएर समुदायको अस्तित्वको प्रतिविम्ब हो । उहाँले यस दिनबाट कुमाल समुदायको नयाँ वर्ष आरम्भ हुने बताउनुभयो । “घाम, पानी र माटोसँग लड्दै बनेको हाम्रो जीवनशैली, संस्कार र पुर्खाले जोगाएको धरोहरलाई हामीले गर्वका साथ भावी पुस्तामा हस्तान्तरण गर्नुछ,” अध्यक्ष कुमालले भन्नुभयो, “यो पर्व हाम्रो आत्मसम्मानको लडाइँ पनि हो र एकताको सुत्र पनि । त्यसैले हरेक वर्ष हामी यसलाई उत्सवको रूपमा मनाउँछौँ ।” कार्यक्रमको रौनक बढाउन यस वर्ष विशेष तयारी गरिएको छ । स्थान अभाव र परिवर्तनका कारण हरेक वर्ष बनाइने परम्परागत ‘कुमाल घर’ यस पटक निर्माण नगरिए पनि साँस्कृतिक माहोलमा कुनै कमी हुनेछैन ।
समितिका सचिव सुरेश कुमालका अनुसार, वडाभित्रका ११ वटा टोल विकास संस्थाहरूले आ–आफ्नो मौलिक पहिचान झल्कने भव्य साँस्कृतिक झाँकी प्रस्तुत गर्नेछन् । स्थानीय कलाकारहरूको बेजोड नृत्य प्रस्तुतिले दिउँसोको माहौल तताउनेछ भने साँझपख ‘मेलोडियस व्याण्ड’ को रात्रिकालिन लाइभ कन्सर्टले युवा पुस्तालाई झुमाउनेछ । साथै, समाजमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ । कुमाल समुदायको खानपान र जीवनशैलीको मौलिकता पनि कार्यक्रमको मुख्य आकर्षण हुनेछ ।
विशेषगरी ‘पुसमा पाकेको खानेकुरा माघमा खाने’ परम्परा अनुसार पुसको अन्तिम रात पकाइएका परिकारहरू माघे संक्रान्तिको दिन प्रसादको रूपमा ग्रहण गरिनेछ । कुनै समय कुमाल समुदायका पुर्खाहरू जंगलमा गएर कन्दमूल जस्तैतरुल, गिट्ठा, भ्याकुर खोजेर ल्याउने र माघे संक्रान्तिको बिहान नुहाइधुवाइ गरी खाने चलन थियो । वनजंगल मास्सिँदै गएको र प्रवेशमा रोक लगाइएका कारण यो चलन बिस्तारै लोप हुँदै गए पनि, त्यसको झझल्को दिने गरी कार्यक्रम स्थलमा कुमाल समुदायका विशेष परिकारहरूको स्वाद लिन पाइने आयोजकले जनाएको छ । यो कार्यक्रमले केवल मनोरन्जन मात्र नभई कुमाल जातिको इतिहास, भाषा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।