चितवन, समाजशास्त्री, मानवशास्त्री, वरिष्ठ टेलिभिजन वातावरण पत्रकार भूपेन्द्र बस्नेतद्वारा चितवन ३ नम्बर क्षेत्रका लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा उम्मेदवारी घोषणा गर्नुभएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति हजारौँ नागरिकको आस्था र विश्वास जोडिएको उल्लेख गर्दै समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर, वरिष्ठ पत्रकार तथा सञ्चारकर्मीले संघीय संसद् अन्तर्गत चितवन क्षेत्र नं. ३ मा हुने फाल्गुन २१ गतेको निर्वाचनका लागि पार्टीको विधानअनुसार आफ्नो आन्तरिक उम्मेदवारी घोषणा गरेका छन्। चितवनले सधैं परिवर्तनको पक्षमा मत दिएको उल्लेख गर्दै उनले वैकल्पिक राजनीतिमार्फत देश र समाज रूपान्तरणको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
“राजनीतिक दलको अत्यधिक हस्तक्षेप, दलीयकरणका कारण समाजमा देखिएका विकृति, विसंगति र व्यथितिहरूको अन्त्य आजको आवश्यकता हो,” उनले भने। दुई दशकभन्दा बढी टेलिभिजन पत्रकारितामा संलग्न उनी दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’ का अध्यक्ष, नेपाल वातावरण पत्रकार समूहका महासचिव तथा नेपालकै पहिलो सामुदायिक टेलिभिजन ‘बेसो टेलिभिजन’ का प्रबन्ध निर्देशक (MD) रहिसकेका छन्। साथै उनले २० भन्दा बढी देशको भ्रमण गरिसकेका छन् र विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय छन्। चितवनमा वैकल्पिक राजनीतिको अभियानअन्तर्गत विवेकशील साझा पार्टीको संस्थापकसमेत रहेका उनले २०७४ मा चितवन–२ र २०७९ मा चितवन–३ बाट उम्मेदवारी दिएका थिए।
आगामी २०८२ को निर्वाचनमा समेत उम्मेदवारीको इच्छा रहेको उनको भनाइ छ। जेन–जी आन्दोलनका शहीदप्रति सम्मान व्यक्त गर्दै उनले आफ्नो उम्मेदवारी उद्यमशीलता प्रवद्र्धन, स्वदेशमै रोजगारी सिर्जना र गरिखाने वातावरण निर्माणमा केन्द्रित रहने बताए। साथै भरतपुर महानगरपालिकाका वडा १४ देखि २८ सम्मलाई समेट्दै ‘नयाँ भरतपुर’ निर्माणका लागि पार्वतीपुरलाई केन्द्र बनाउने पहल आवश्यक रहेको उनको धारणा छ। उनले पार्टीको निर्णयलाई सहर्ष स्वीकार गर्ने स्पष्ट पार्दै अन्ततः आगामी चुनावमा रास्वपाका घण्टी चिन्हका उम्मेदवारलाई विजयी बनाउने जिम्मेवारीमा आफू प्रतिबद्ध रहने बताए।
Advertisement