(अनिल भट्टराई) चितवन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।पुराना राजनीतिक दलहरूलाई कडा चुनौती दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक चितवनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ ।विशेष गरी क्षेत्र नम्बर ३ मा रास्वपाबाट उम्मेदवार बन्न आकाङ्क्षीहरूको लर्को लागेसँगै यस क्षेत्रले देशभरकै ध्यान खिचेको छ ।रास्वपाको तर्फबाट हालसम्म चार जना प्रभावशाली व्यक्तित्वहरूले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।जसमा युवा नेतृत्वदेखि शैक्षिक र मिडिया उद्यमीसम्म रहेका छन् ।
को–को हुन् मुख्य आकाङ्क्षी ?
रास्वपाका जिल्ला सचिव विशाल कोइराला यस पटक सशक्त दाबेदारका रूपमा उभिएका छन्। ३१ वर्षीय कोइराला व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तर गरी भरतपुरको बोस्टन कलेजमा अध्यापनरत छन्। पार्टीको सुरुवातदेखि नै सक्रिय उनी पार्टी सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सचिवालय सदस्यका रूपमा समेत काम गरिसकेका अनुभवी युवा हुन् ।कोइराला नेकपाका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को गृह वडा भरतपुर–१४ शिवनगरकै स्थायी बासिन्दा हुन् ।

त्यस्तै, रास्वपाका क्षेत्रीय सभापति इन्जिनियर मिनी माधव खनाल अर्का दाबेदार हुन्।बोस्टन कलेजमै इन्जिनियरिङ अध्यापन गराउने खनाल पार्टीको तल्लो तहदेखि नै भिजेका नेता मानिन्छन्।

मिडिया उद्यमीको पहिचान बनाएका भूपेन्द्र बस्नेतले पनि यस क्षेत्रमा आफ्नो बलियो दाबी पेश गरेका छन्। अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका बस्नेत यसपटक रास्वपाको चुनाव चिह्न लिएर मैदानमा उत्रिने दाउमा छन् ।

यसैगरी, हालै रास्वपा प्रवेश गरेका अक्सफोर्ड कलेजका सञ्चालक एवं शैक्षिक उद्यमी हरि भण्डारीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। माओवादी पृष्ठभूमिबाट आएका भण्डारीले आफूले टिकट पाए रेनु दाहाललाई पराजित गर्ने दाबी गर्दै आएका छन् ।

सोविता गौतमको सम्भावित इन्ट्री र चुनावी समीकरण
यी चारै जनाको चर्चा भइरहँदा काठमाडौँ क्षेत्र नम्बर २ की सांसद एवं रास्वपा सचिवालय सदस्य सोविता गौतमको नामले चितवन ३ को राजनीतिलाई थप रोचक बनाएको छ ।काठमाडौँ २ मा बालेन शाह उम्मेदवार बन्ने चर्चा चलेसँगै सोविताले आफ्नो ’ब्याकअप’ निर्वाचन क्षेत्रका रूपमा चितवन ३ लाई हेरेकी छन्। भरतपुर १५ मा विवाह गरेकी उनलाई चितवन ३ मा ’बुहारी’ का रूपमा उम्मेदवार बनाउनुपर्ने माग पनि पार्टीभित्र उठ्न थालेको छ ।रास्वपा र बालेन शाह लगायतका शक्तिहरूबीच एकता भएकाले यसपटक ’प्राइमरी इलेक्सन’ भन्दा पनि केन्द्रले नै उम्मेदवार तोक्ने सम्भावना बलियो छ ।यदि सोविता चितवन झरेमा अन्य आकाङ्क्षीहरू पछि हट्नुपर्ने अवस्था आउन सक्छ ।

प्रतिस्पर्धा कडा हुने सङ्केत
चितवन ३ मा रास्वपाका लागि बाटो सहज भने छैन ।यहाँ नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल, राप्रपाका प्रभावशाली नेता विक्रम पाण्डे र एमालेका शंकर थपलिया सर्वसम्मत उम्मेदवार सिफारिस भइसकेका छन् ।नेपाली कांग्रेसमा आकाङ्क्षी धेरै भए पनि दिनेश कोइरालालाई मुख्य दाबेदारका रूपमा हेरिएको छ ।रवि लामिछानेको क्षेत्र नम्बर २ जस्तै ३ नम्बर क्षेत्र पनि अहिले चर्चाको शिखरमा छ ।एकातिर पुराना हस्तीहरू र अर्कोतिर रास्वपाका जुझारु युवाहरूबीचको यो भिडन्तले फागुन २१ को निर्वाचनलाई निकै अर्थपूर्ण बनाउने निश्चित छ ।रास्वपाले यी ५ नाममध्ये कसलाई मैदानमा उतार्छ, त्यसले चितवनको चुनावी माहोललाई केन्द्रिकृत गर्ने नै छ ।