भरतपुर । सुरेश अधिकारीका सांगितिक कृतिहरु रेडियोहरुले प्रसारण नगर्ने भएका छन् । नेपालका रेडियोहरुमाथि नै अमर्यादित गाली गलौज, मानमर्दन र भ्रम सिर्जना गर्दै अभिव्यक्ति दिएको भन्दै उनका कृतिहरु प्रशारण नगर्न एकमत भएका हुन् । नेपालका स्वतन्त्र रेडियो सम्वद्ध संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यमसँग दुरी बढाउने काम गरेको आरोप लगाएका छन् ।
विज्ञप्तीमा लेखिएको छ, ‘नेपालका स्वतन्त्र रेडियोका संचालक तथा सम्वद्ध संघ संस्थालाई लक्षित गरी सुरेश अधिकारीको नामबाट सञ्चालित फेसबुक एकाउन्ट मार्फत आएको अत्यन्त अमर्यादित गाली गलौच, मानमर्दन र भ्रम सिर्जना गर्ने आसय सहितको अभिव्यक्ति प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपाली संगीत क्षेत्रका एकजना सर्जकका रुपमा सामाजिक पहिचान बनाएका व्यक्तिवाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै अर्थमा पनि सभ्य समाजमा सुहाउँदो कुरा हुनै सक्दैन । यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउने मात्रै होइन सञ्चार माध्यम सितको सम्वन्धमा समेत दुरी बढाउने कार्य गरेको छ ।’ रेडियोहरुले रोयल्टी वापतको रकम नदिएको बताउदै सुरेशले फेसबुकमा स्टाटस लेख्दै गाली गरेका थिए ।
संगीत रोयल्टी संकलन समाजका नाममा स्थापित एक गैर सरकारी तथा गैर नाफा मूलक संस्थाका नाममा कानुनको ठाडो उलंघन गर्दै आम संचार गृहका उपकरणहरु समेत उठाउने धम्की समेत दिएका थिए । उनले ‘टाउके भनाउँदा लाउके’ भन्दै तथानाम गाली सहितको स्टाटस लेखेका थिए । सर्जक अधिकारीको धम्कीपूर्ण स्टाटस पछि रेडियोहरुले सरकारसँग आम संचारगृहको सुरक्षाको माग समेत गरेका छन् । नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकाष्टर्स फोरम आरबीएफ नेपाल, ब्रोडकाष्टिङ्ग एसोसिएसन अफ नेपाल बान र सामुदायिक रेडियो प्रसारक संघ अकोराबले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्र बीचको सुमधूर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सुरेश अधिकारीका सांगितिक कृतिहरु रेडियोबाट प्रसारणमा गर्न नसकिने जनाएका छन् । एक संगीत सर्जकद्धारा यसरी संचार माध्यमलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्ने सम्मको अभिव्यक्ति दिनु लोकतान्त्रिक चरित्र विपरितको कार्य भएको उनीहरुको निष्कर्ष छ । संगीत रोयल्टी संकलन गर्ने हालसम्म कानूनी आधार तयार नभएपनि कुनै पनि सर्जक आफ्नो मौलिक अधिकारबाट बन्चित बन्न नहुने बताएका छन् ।