प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए ।प्रधानमन्त्री दाहालले भने, रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।उनले रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको बताउँदै उनले सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा अगाडि बढ्ने बताए । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको उनले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, रास्वपाका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने बताए । सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ कि भन्ने भ्रम होु, उनले भने ।
आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए । सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघरमण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए । प्रधानमन्त्री दाहालले भने, भेटमा मैले बजेटमा तपाईंको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिँड्ने समयमा उहाँले माइतीघरमण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसीहाँसी बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेको थिएँ ।
पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए ।आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको बताए । उनले भने, तत्कालीन राजा र तीनका समर्थक भन्ने छ त्यो गम्भीर विषय हो ।