काठमाडौं–चलचित्र विकास बोर्डले पुराना १० चलचित्रको ‘डिजिटाइजेसन’ र ‘रेष्टोरेसन’को काम सकेको छ ।
सेल्युलाइड प्रविधिमा रहेका चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइजेसन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँले जानकारी दिए ।
डिजिटाइजेसन गरेसँगै ती चलचित्र अङ्ग्रेजी भाषामा सबटाइटल पनि गरिएको छ । ‘डिजिटाइजेसनसँगै ती चलचित्रको रिल रेष्टोरेसन गरेर राखिएको छ । रेष्टोरेसनले एट के वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिनेछ । हामीले सरकारी लगानीमै निर्मित १५ घन्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेसन गरेका छौँ’, उनले भने ।
रेष्टोरेसन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइन्छ । त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिन्छ । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई डिजिटाइजेसन गरिएको छ । डिजिटाइजेसन भएपछि सोह्र एमएम र ३५ एमएमका ती चलचित्र टु के र फोर के ढाँचामा छन् ।
नेपालमा चलचित्रको इतिहासलाई आम सर्वसाधारणसम्म पु¥याउन चलचित्र सङ्ग्रहालयको स्थापना गर्ने प्रक्रियाको थालनी भएको बोर्डले जनाएको छ । अधिकृत गुरागाईँका अनुसार साउथ एसियाका देशमध्ये छिमेकी मुलुक भारतपछि सफलतापूर्वक डिजिटाइजेसन तथा रेस्टोरेसन गर्ने देश नेपाल हो । पहिलो बोर्ड अध्यक्ष यादव खरेलको सक्रियतामा नेपाल टेलिभिजनमा राखिएका रिललाई सफाइ गरेर बोर्डमा अर्काइभ गरी राख्ने अवधारणा ल्याएपछि डिजिटाइजेसनको सुरुआत भएको अधिकृत गुरागाईँले जानकारी दिए ।
सन् २०२१ को मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘डिजिटाइजेसन’ गरिएको दुई फिल्म आमा र कुमारी प्रदर्शन गरिएको थियो । २०७५ भदौ २८ सम्झौता गरेर २०७६ फागुन ८ गते डिजिटाइजेसन र रेष्टोरेसनको कार्य भारतको चेन्नईस्थित श्रीप्रसाद कर्पोरेसन प्रालिको प्रसाद ल्याबमा सम्पन्न भएको थियो ।