धोकेबाज भनेर चिनिएकी गायिका एलिना चौहान प्रेममा परेकी छन् । अष्ट्रेलियामा रहेका गायक विष्णु सापकोटासँग उनी प्रेमसम्बन्धमा रहेको चर्चा व्यापक छ । उनले फोटो सेयर गर्दै इन्स्टामा क्याप्सन लेखेकी छन्– तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिँदैन । तिम्रो साथले मलाई जीवित राख्छ ।’ स्टाटसको पुछारमा हार्ट–इमोजी पनि छ । टिकटकमा यो जोडी बेलाबखत देखिदै आइरहेको छ ।
एलिना–विष्णु सँगै देखिएका केही भिडियोहरुमा कतै मायाका कुरा छन्, कतै सिँउदो भर्ने कुरा छन्, कतै धुँवासरी कुरा फैलिएका प्रसङगहरु छन् । विष्णु अष्ट्रेलियामा छन् । होलि इभेन्ट्सका लागि एलिना पनि अष्ट्रेलिया पुगेकी थिइन् । उनीहरु नजिक भए । केही भिडियोहरु बनाए । सामाजिक सञ्जालमा राख्न थाले । धेरैलाई लाग्छ– उनीहरु प्रेममा परिसके । कमेण्टहरुमा धेरैले बधाई दिएका छन् । भिडियो, फोटाहरुमा आएका बधाई मौन रुपमा स्विकारिरहेका छन् । विष्णुलेनै लेखेको गीत बाजा तालमा दुबै जना मिलेर गाएका छन् । गीतमा छ– तिम्रो सिउँदो अझै नी खाली, झ्याई पारेर लैजाम की यसपाली ।
गीतमा भनिएजस्तै विवाह गर्ने सोचमै छन् एलिना–विष्णु ? गायक–गायिका सँगसँगै देखिनु, फोटो–भिडियो खिच्नु नौलो होइन ।
तर, तिम्रो साथले मलाई जीवित गर्छ भन्दै फोटो सहितको स्टाटस लेख्नुभित्र केही रहस्य पक्कै छ । प्रेमसम्बन्ध भनेर बुझ्नेहरुलाई जवाफ दिनुपर्छ । यतिविधि गसिपहरु आउँदा समेत नबोल्नु भनेको मौनम्, स्वीकृतम त होइन नि । एलिना–विष्णुले सँगसँगै गीत गाएका थिए । गाउने कर्म एउटा होला । तर, प्रेमिल गीतका भावहरुमा अभिनय गर्दै सेयर भएका भिडियोहरुलाई लभजोडी भनेर बुझ्ने दर्शकको के नै गल्ती होला र ? प्रेम जीवन यतिविधि खुल्ला किताब बनाउन हुन्थेन । सामाजिक सञ्जालमा यति निकटता देखाउदा आउने आलोचना पनि सहन तयार हुनैपर्छ ।
बाग्लुङका विष्णु सापकोटा गीतका सर्जक, गायक हुन् । उनले अष्ट्रेलियामा मायालु इन्टरटेण्डमेण्ट नामको संस्था चलाउँदै आएका छन् । सोही संस्थाबाट सांस्कृतिक कार्यक्रमहरु गर्छन् । विष्णुले एलिनासँगै गीतमात्रै गाएका छैनन्, म्युजिक भिडियो पनि खेलेका छन् । ‘धोकेवाज हौ तिमि गीतबाट एकाएक चर्चामा आएकी एलिनालाई धेरैले प्रेमसम्वन्धलाई गोप्य राख्न सुझाएका छन् । प्रेमभन्दा करियरमा ध्यान दिन सुझाउनेहरु पनि छन् ।
झापाकी एलिना सुरुसुरुमा कभरसङहरु गाउँथिन् । कभरगीतबाटै चर्चामा आएपछि उनलाई गीत गाउन थुप्रै अफर आए । उनले ५० भन्दा बढी गीतहरु गाइसकेकी छन् । धोकेबाज गीतमा मेला, महोत्सवमा जाने दर्शकहरुले भूईमा टाउको ठोक्काउँदै, रुदै, बारमा मच्चिदै भिडियोहरु पोष्ट गर्न थालेपछि एलिना चर्चामा आइन् । स्टेजमा एलिनाले गाउँदा धोकेबाजमा दर्शकहरुले थुप्रैले भिडियोहरु बनाए । गीतको भावमा डुबे । एलिनाले प्रेमसम्बन्धमा धोका नपाउन् । भविष्यको योजना सफल बनोस् ।