सामाजिक सञ्जालमा नायिका निता ढुंगाना गर्भवती बनिन् भन्ने हेडलाइनका भिडियोहरु देख्नुभएको छ ? यही असारमा बिहे गरेकी निता गर्भवती हुनु कुनै नौलो होइन । तर, निता गर्भवती छैनिन्, सामाजिक सञ्जालले गभर्वती भन्दै अनावश्यक प्रचार गरिरहेका छन् । निताले स्टाटस लेख्दै व्यक्तिगत जीवनसँग नजोड्न आग्रह गरेकी छन् । गर्भवती बनिन् भन्ने भिडियोहरु देखिन थालेपछि नितालाई टेन्सन बढेको छ । एक दशक बढी लामो फिल्मी करियरमा निता पहिलो पटक निराश बनेकी हुन् । केही युट्युव, केही सामाजिक सञ्जालमा निता गर्भवती बनेको, गर्भवतीको हुदाको अनुभव सेयर गरेको भन्दै प्रचार भएपछि उनले मुख खोलेकी छन् । भ्रामक हेडलाइन नराख्न आग्रह गरेकी छन् ।
निता सुटिङमा रमाइलो गर्ने, हासिरहने, फरासिलो कलाकार हुन् । चरित्रमा डुबेर अभिनय गर्न माहिर छिन् । चलचित्र कलाकार संघको महाधिवेशन चलिरहदा निताको चिन्ता भने सामाजिक सञ्जालतिर बढेको छ । सचिन रौनियार र वेनिसा पौडेलको मरिहत्ते गीतको म्युजिक भिडियोमा नायिका निताको अभिनय छ । सो गीतमा निता गर्भवती बनेर अभिनय गरेकी छन् । गीत माया–प्रेमको कथामा आधरित छ । भ्युज धेरै आउने आशमा मनलाग्दी हेडलाइन राख्नेहरुप्रति निताले तितो पोखेकी छन् ।
केही युट्युवमा आएका हेडलाइनहरुको स्क्रिन सट पनि सेयर गर्दै खबरदारी गरेकी छन् । गीतको म्युजिक भिडियोबारे निता सहितको टिमसँग सञ्चारकर्मीले चैत २ गते सवालजवाफ गरेका थिए । ४ वर्षे प्रेम सम्बन्धमा रहेर निताले यही असारमा ज्योतिषी तथा कलाकार हरिहर अधिकारीसँग विवाह गरेकी थिइन् । गर्भवती बनिन् भनेर प्रचार गर्ने मिडियाहरुप्रति निताले आपत्ती जनाएकी छन् । निता र हरिहरले सन्तान पाइसकेका छैनन् । निताले अभिनयका शिलशिलामा पेटमा कुसन राखेर गर्भवती भएको अभिनय गरेकी थिइन् । सिनेमा, म्युजिक भिडियोमा कलाकारहरुले कथा अनुसार अनेक भूमिका निर्वाह गर्नुपर्छ । अभिनयलाईनै वास्तविक जीवनसँग मोडेर हेर्ने, प्रचार गर्ने काम उचित हुदैहोइन ।
निताले सामाजिक सञ्जालमा लेखेका कुरा यस्ता छन्ः
कलाकार भएपछी विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामिले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिने भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता कृयाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रती मेरो घोर भत्सर्ना छ । विहिबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जिवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता कृयाकलाप प्रती प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु ।
सामाजिक सञ्जालमा जे मन लाग्छ, लेख्ने, मानिसहरुको खेदो खन्ने । आलोचना गर्ने बानीहरु बन्द हुनुपर्छ । सत्य, तथ्य बुझेर मात्रै सामाजिक सञ्जालमा बग्नुपर्छ । लहैलहैमा लाग्ने काम नगरौँ । कसैको व्यक्तिगत जीवनलाई असर पार्ने काम नगरौँ । कलाकारहरु बेलाबखत विवादमा आउँछन् । यो नौलो भएन, तर, मरिहत्ते गीत चलाउनका लागि नायिकाले असन्तुष्टी पोखेकी हुन् भने सोचनिय विषय हो ।