काठ्माण्डौ । अभिनेता पल शाहले बाल यौन दुरुपयोगको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत पोखराले उनलाई सफाइ दिएको हो । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको बताए । पल शाह भोलि रिहा हुनेभएका छन् ।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो । उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।