काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले यस्तो जानकारी गराएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही फागुन १९ गते कतारको दोहा प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।
प्रधानमन्त्री प्रचण्डले सो सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपाली राजदूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने मन्त्रालयले जनाएको छ ।
सम्माननीय प्रधानमन्त्री मार्चको ३ तारिखमा काठमाडौंबाट प्रस्थान गरेर दोहाबाट ६ तारिखमा फर्कने गरी कार्यक्रम तय गरिएको छ । त्यो सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेताको हिसाबले सम्माननीय प्रधानमन्त्रीज्यूले गर्ने तय भएको कार्यक्रमहरू यूएनले नै बनाएका केही कार्यक्रमहरू छन् । नेपाली कम्युनिटीसँग पनि एउटा प्रोग्राम गर्ने कार्यक्रम तय भएको छ । चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्कनेछन् । प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनेछन् ।