काठमाडौँ । पुस १० गतेसम्म कायम रहेको पुरानो गठबन्धनका शिर्ष नेताहरु राष्ट्रपति चुनावबारे छलफलमा जुटेका छन् । उनीहरुबीच एक घण्टादेखि छलफल भैरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच बैठक बसिरहेको छ ।
बैठकमा राष्ट्रिय जनमोर्चा भने सहभागि छैन । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा सहभागि छन् ।
यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । पुस १० मा सरकार गठनहुदा एमालेको भागमा परेको राष्ट्रपति पद एमालेलाई दिनका लागि यतिबेला प्रचण्ड तयार छैनन् । भोली राष्ट्रपति पदका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । राष्ट्रपति को बनाउने दलहरुमा अझै सहमति जुट्न सकेको छैन । माओवादी, कांग्रेसले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने अडान लिदै आएका छन् ।