काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश छिटो नियुक्त गर्न माग गरेको छ । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज (मंगलबार) बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो ।
अध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेको बताए । उनले चाँडै टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेषरूपमा लिनुपर्ने बताए ।
विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश छन् । प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ । भेटमा अध्यक्ष घिमिरेसहित महासचिव अञ्जिता खनाल, बागमती प्रदेश उपाध्यक्ष हर्क रावल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए ।