हेटौंडा । बागमती प्रदेशले खर्च कटौतीको प्रस्ताव पारित गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा बनेको कार्यदलले गएको माघ २४ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बुझाएको प्रतिवेदनका आधारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले खर्च कटौती गर्ने तयारी गरेको हो ।
यसैगरी बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ र डा.जयन्त खनाललाई नियुक्त गरेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । यसअघि गएको माघ २४ गते आयोगको उपाध्यक्षमा डा. होमनाथ चालिसे नियुक्त भएका थिए । यो सँगै आयोगले पूर्णता पनि पाएको छ ।
बैठकले निजामती कर्मचारी सम्वन्धी कानून निर्माणका लागि २ वटा प्रतिस्थापन विद्येयकहरु प्रदेशसभा बैठकमा लैजाने निर्णय समेत गरेको छ । बैठकले प्रदेश निजामती सेवाको गठन संचालन र सेवा सम्बन्धी प्रतिस्थापन विद्येयक र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धी प्रतिस्थापन विद्येयक संसदमा लैजाने निर्णय गरेको हो ।
मन्त्रीपरिषद् बैठकले अघिल्लो सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठान र हेटौंडा अस्पताल अलग गर्ने गरी जारी भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन अध्यादेशलाई निष्कृय गर्ने निर्णय गरेको छ ।