काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट निकालिएको छ । जलेर घाइते भएका भण्डारीलाई एम्बुलेन्समा राखेर विमानस्थल लगिँदै छ । श्री एयरलाइन्सको विमानमार्फत उनलाई उपचारका लागि मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिने जनाइएको छ ।
एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गर्ने भएको छ । नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ नेता भण्डारीको शरीर करिब ३० प्रतिशत जलेको र फोक्सोसम्म ग्यास पुगेकाले स्वास्थ्य अवस्था जटिल रहेको अस्पतालले जनाएको छ ।