एमाले सांसद विद्या भट्टराईले त्रिसुली–मुग्लिङ सडक स्तरोन्नतिको काम छिटो गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भट्टराईले पृथ्वी राजमार्ग अन्तर्गत करिब ९३ किलोमिटर त्रिशूली मुग्लिङ सडक एसियाली विकास बैंकको सहयोगमा ४ लेन स्तरोन्नति गर्नका लागि २०७८ सालमा सम्झौता भएको बताउँदै ८१ सालसम्म निर्माण सक्नुपर्नेमा सो सडकको भौतिक प्रगति ५ प्रतिशत मात्र रहेको बताइन् ।
सडक निर्माणका लागि पानीका पाइप र बिद्युतका पोल अवरोधको रूपमा रहेको बताउँदै यसका कारण पोत्रे पोखरा सडक निर्माणको काम सुरु नै हुन नसकेको बताइन् । सडकको अवस्था निकै दयनीय र यात्रुहरूको यात्रा निकै कष्टमय रहेको उल्लेख गर्दै सडक निर्माणको प्रगति सन्तोषजनक नरहेको बताइन् । उनले तोकिएको समयमा सडक निर्माणको काम सम्पन्न गर्न द्रुतगतिमा काम अघि बढाउन सरकारको ध्यानाकर्षण समेत गराइन् ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले नेपाली क्रिकेट टोलीमा नाबालिग बलात्कारका आरोपित सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमको सदस्य बनाएकोमा प्रश्न उठाएकी छन् । उनले नेपाली टोलीमा बलात्कारका आरोपित रहनुले राष्ट्रसामु प्रश्न उठाएको बताइन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद श्रेष्ठले बलात्कारका आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउने र न्याय निरुपणमा भएको ढिलाइले पीडितलाई मानसिक आघात पुगेको पनि बताइन् । ’न्यायपालिकाको काम चुस्त‚ दुरुस्त र पारदर्शी हुनुप¥यो । सबैको पहुँचमा हुनुप¥यो । त्यसो नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजन हुन थालिसकेको छ । सन्दीप लामिछानेको मुद्दा हेरौं, त्यो कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो ?’ उनले भनिन् ।
यस्तै, नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै शिक्षा नीतिमा समस्या रहेको औंल्याएका छन् । उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए ।