काठमाडौं । यातायात मजदुरहरुले आव्हान गरेको बन्द फिर्ता भएको छ । काठमाडौं उपत्यकामा बन्द आह्वान गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारमा भएको वार्तामा बन्द फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालय सदस्य विजय गौतमले जानकारी दिए ।
यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायतका १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने सहमति भएको जनाइएको छ । आन्दोलित मजदुरहरुले सोमबार बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोड गरेका थिए । बेलुकीपख ल्होत्से मलका केही पसलहरु तोडफोड समेत गरेको थियो ।