काठमाडौँ । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बोलाइएको बैठकमा ४ पार्टीमात्रै सहभागि भएका छन् । सत्तारुढ दलभित्रका अन्य ३ दल बैठकमा सहभागि भएका छैनन् ।
केपी ओली नेतृत्वको संयन्त्रको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । बैठकमा एमाले अध्यक्ष ओली सहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा सहभागि भएका छैनन् ।
रास्वपा समर्थन कायम राख्दै सरकारबाटबाट बाहिरिएपछि पहिलो पटक संयन्त्रको बैठक बसेको हो । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको विषय छलफल केन्द्रीत भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रका नेताहरुले राष्ट्रपतिका सन्दर्भमा राष्ट्रिय सहमति बन्नुपर्ने बताउँदै आएका छन् ।