काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेट भएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।बिहीबार सत्ता गठबन्धनमा रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको थियो । तर स्थगित भएको प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
ओलीले भने -सुदूरपश्चिम प्रदेश सरकार जोगिन्छ होला
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकै नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार जोगिने आशा व्यक्त गरेका छन् ।बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलबाट बाहिरिने क्रममा उनले सुदूरपश्चिम सरकारका बारे सोधिएको प्रश्नको उत्तर दिँदै जोगिन्छ होलाु भनेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले बिहीबार नै विश्वासको मत लिने कार्यक्रम छ। उनी मुख्यमन्त्री नियुक्त भएको आजै तीस दिन पुग्दैछ। तर, मुख्यमन्त्रीमा दाबी पेश गर्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि उनी अप्ठ्यारोमा परेका छन् ।
सुदूरपश्चिम प्रदेशमा ५३ सांसद रहेकोमा एमाले र माओवादी केन्द्रसँग कुल २१ सांसद छन्। राप्रपाको एक सांसदले सघाउँदा पनि विश्वासको मत पुग्दैन । कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत दिने अवस्था छैन। त्यसैले नागरिक उन्मुक्ति पार्टी निर्णायक भएको छ। सो पार्टीले रेशम चौधरी सहितका नेताहरुको रिहाइलाई सर्तको रुपमा राखेका छन् ।