काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले अनुबन्ध गर्न पाउने विदेशी खेलाडीको संख्या बढाएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । यसअघि चारजना विदेशी राख्न पाउनेमा अब क्लबहरुले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
तर, विदेशी खेलाडीको मापदण्ड परिवर्तन गरिएको छ ।बुधबार एन्फाको लिग कमिटी र ए डिभिजन क्लबबीचको छलफलपछि क्लबले पाँच जनासम्म विदेशी अनुबन्ध गर्न पाउने र सुरुवाती ११ मा ४ जनामात्र खेलाउन पाउने व्यवस्था गर्न लागिएको हो ।
पाँच विदेशीमध्ये एक जना एसियाली र एक जना दक्षिण एसियाली खेलाडी हुनैपर्ने व्यवस्था छ । शहीद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै सुरूवाति– ११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ । एकजना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् ।
नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगका लागि पाँचौं चरण सम्मको तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिका अनुसार उद्घाटन खेल खुमलटार युथ क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।