काठमाडौं । काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ । मोरङको सुन्दर हरेंचाका ३२ वर्षीय रामबहादुर थापा हत्या आरोपमा पक्राउ परेका हुन् । मृतक पर्साको वीरगञ्ज– १५ स्थायी घर भई टोखा नगरपालिका– ३ बस्दै आएका ५७ वर्षीय ध्रुवबहादुर खड्का रहेका छन् ।
जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेमा पनि देखिएको प्रहरीले बताएको छ ।
प्रहरीले थापाको साथबाट लुटिएको मोवाइल र पर्स पनि बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार थापाले धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तर पैसा केही हजार मात्र भेटिएको पाइएको प्रहरीको भनाइ छ । हत्या आरोपमा पक्राउ परेका थापा यसअघि २०७७ सालमा गाजा सहित पक्राउ परेका थिए ।