काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना एसएसपी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सूची अनुसार एसएसपी सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।माओवादी द्वन्द्व चर्किँदै गएको अवस्थामा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर ०५७ सालमा सशस्त्र प्रहरी बलको गठन भएको थियो ।
त्यसबेला बलको उद्देश्य माओवादी द्वन्द्वलाई निस्तेज पार्नु थियो ।हालसम्म सेना र नेपाल प्रहरीबाट आएका जनशक्तिहरु नै सशस्त्र प्रहरी बलका उच्च पदहरुमा थिए । अहिलेका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल नेपाल प्रहरीबाट सशस्त्रमा स्थान्तरण भएका अधिकृत हुन् ।
आईजीपीको चार वर्षे सेवा अवधि कायमै रहे १८ वैशाख २०८३ सम्म महानिरीक्षक बन्नेछन् । त्यसपछि नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एक जना २२ महिनाका लागि संगठन प्रमुख हुनेछन् । त्यसपछि गणेश ठाडा मगर र कमल गिरीमध्ये एक जना केही समयका लागि आईजीपी हुने लाइनमा हुनेछन् । त्यसपछि हाल डीआईजीमा बढुवा भएका चार जना अधिकृतमध्येबाट एक जनाले संगठन हाँक्नेछन् ।